कीर्तिपुरमा सुकुम्वासी रहेको होल्डिङ सेन्टरमा डुबान भएको छ । वर्षापछि आएको बाढी पस्दा होल्डिङ सेन्टर डुबानमा परेको हो ।
होल्डिङ सेन्टरमा रहेका १५४ मध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको स्मृति भवनमा राखिएको छ । अन्य ६ जना आफन्त वा नजिकैको होस्टेलमा बस्न गएका छन् । ९४ जना अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन् ।
होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन् ।
उनीहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्न पाएनन् ।
हाल घटनास्थलमा सम्बन्धित विषयगत क्लस्टरहरू सक्रिय भई प्रभावितहरूका लागि खाना, खानेपानी तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।



