ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजु भाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बी एण्ड बी अस्पताल लगिएको थियो । उनीहरूको उपचारककै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । चक्कर प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।
कसरी भयो घटना ?
बुधबार साँझ नेम्बाङ दाजु भाइले फोन गर्दा सञ्जीवको मोबाइलमा पर्यो । उनीहरू एक आपसमा अपरिचितसमेत हुन् । नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोहीक्रममा भनाभन भयो । फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजु भाइलाई नै पाटन आउन भने । त्यसपछि इमाडोल बस्ने दाजु भाइ पाटन पुग्छन् । सोहीक्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु पसलमा मासु काट्न प्रयोग हुने हतियार लिएर आएर प्रहार गर्छन् ।



