त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदामा गएर तोकिएको समयमा काममा नफर्कने प्राध्यापकहरूमाथि सरकारले कारबाही गरेको छ ।
सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धिप्रतिवेदनअनुसार, यसरी समयमै नफर्कने ४ सय जना प्राध्यापकहरूबाट कारबाहीस्वरुप १३ करोड २६ लाख रुपैयाँ राजस्व फिर्ता लिइएको छ ।
अध्ययन बिदाको दुरुपयोग गर्ने र राज्यको स्रोत लिएर पनि समयमा जिम्मेवारीमा नफर्कने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले यो कदम चालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
जसअनुसार यस कारबाहीले जिम्मेवार पदमा रहेका पदाधिकारीहरूको गैरजिम्मेवार प्रवृत्तिलाई नियन्त्रण गर्दै राज्यकोषमा ठुलो रकम फिर्ता ल्याउन सफल भएको छ । सार्वजनिक खर्चको बचत र मितव्ययिता अपनाउने सरकारी नीतिअनुसार त्रिविका प्राध्यापकहरूमाथि यो ऐतिहासिक कारबाही गरिएको हो ।



