नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ठोस परिवर्तनका निम्ति सचेत र संगठित प्रयास आवश्यक रहेको बताएका छन् । शनिबार (असार २०) ललितपुरमा आयोजित एमाले ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले परिवर्तनको प्रतीक्षा गरेर मात्र नबस्न कार्यकर्तालाई आह्वान गरेका हुन् ।

वर्तमान समय सूचना प्रविधिको युग भएको चर्चा गर्दै उनले यसलाई ‘प्रचार र आईटी वार’को संज्ञा दिए । पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै कुप्रचारलाई ‘अल्गोरिदम’का रूपमा विकास गरेर भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ ।

सरकार ‘चटक’का भरमा आएको र यसैगरी जाने उनले टिप्पणी गरे । सरकार ढल्ने परिस्थिति स्वतः सिर्जना हुने भए पनि मुलुकलाई थप क्षति हुनबाट जोगाउन सचेत हस्तक्षेप जरुरी रहेको उनले बताए ।

  • कार्यक्रममा केपी ओलीको भनाइ पढ्नोस्–
    आजको जमाना सूचना प्रविधि (आईटी)को हो । आजको जमाना आईटी युद्धको हो । आजको जमाना प्रचारको हो । हामीले यति धेरै काम गर्‍यौँ, तर त्यसलाई पर्याप्त रूपमा प्रचार गर्न सकेनौँ । जसले कामै गरेन, ऊ विनाशको एजेन्डा लिएर आयो र प्रचारमा अगाडि बढ्यो । यसको अर्थ के हो भने, योजनाबद्ध रूपमा कुप्रचार चलाइयो र त्यसलाई एल्गोरिदमका रूपमा विकास गरियो । कुप्रचार एल्गोरिदममार्फत फैलियो र एल्गोरिदमले मानिसहरूलाई त्यसमा विश्वास गर्न बाध्य बनायो । त्यसकारण यसमा अलमलिइरहने होइन । हामी यो अवस्थासम्म आइपुग्यौँ भन्दैमा यहीँ रोकिने पनि होइन । समय गतिशील छ, परिवर्तनशील छ । परिवर्तन आफैँ पनि हुन्छ, तर त्यो धेरै ढिलो हुनसक्छ । त्यसैले परिवर्तनका लागि सचेत प्रयास गर्नु, सचेत पहल गर्नु र त्यसका लागि योजनाबद्ध रूपमा काम गर्नु अत्यन्तै वाञ्छनीय हुन्छ । हामीले विकासवादी सिद्धान्तका आधारमा विकास त हुँदै जान्छ, परिवर्तन पनि हुँदै जान्छ भन्ने बुझाइराख्न सक्छौँ । अहिलेको सरकारलाई कसैले नढाले पनि त्यसभित्र आफैँ ढल्ने तत्त्वहरू पैदा हुन्छन् । अनेक कारणले त्यो ढल्न सक्छ र जुन चटकका भरमा आएको हो, त्यही चटकका भरमा जान पनि सक्छ । तर, हामी त्यसैको प्रतीक्षामा बस्यौँ भने त्यसले देशलाई बर्बाद गरिसकेको हुनेछ, लोकतन्त्रलाई बर्बाद गरिसकेको हुनेछ, हामीलाई बर्बाद गरिसकेको हुनेछ । र, जनतालाई पनि ठूलो क्षति पुर्‍याइसकेको हुनेछ । अनि, हामी भने परिवर्तन कहिले हुन्छ भनेर पर्खिरहेका हुनेछौँ । त्यसकारण परिवर्तन पर्खिने विषय होइन, परिवर्तन सचेत प्रयासबाट छिटो ल्याइने विषय हो । क्रान्ति भनेको पनि त्यही हो । सचेत प्रयासद्वारा छिटो, गुणात्मक फड्को मारेर गरिने परिवर्तन हो । हामीले भनेको परिवर्तन त्यही हो । त्यस परिवर्तनतर्फ हामीले आफ्नो प्रशिक्षण र अभियानलाई अगाडि बढाउनुपर्छ ।
एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय