नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरू विरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गरेका हुन् ।
सचिव बस्नेतले गत वर्षको २३ र २४ गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाए । डिस्कोर्ड च्यानल, ‘हामी नेपाली बारबरा फाउन्डेसन’ र ‘अमेरिकन यूथ काउन्सिल’ जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको उनको जिकिर छ । ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउने जस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको बस्नेतले बताए ।
कार्यक्रममा बोल्दै सचिव बस्नेतले भने, ‘राज्यविरुद्ध आतङ्क सिर्जना गर्ने प्रयास भइरहेको छ । डिजिटल प्लेटफर्मलाई हाम्रो विरुद्ध भ्रम फैलाउने माध्यम बनाइएको छ । भदौ २३ र २४ गतेका घटना नेपालमाथिको आक्रमण थिए । ती घटनामा डिस्कोर्ड च्यानलको प्रयोगदेखि लिएर ‘वी आर नेपाली’, ‘बारबरा फाउन्डेसन’ र ‘अमेरिकन यूथ काउन्सिल’ जस्ता साम्राज्यवादी देशसँग आबद्ध भनिएका समूह तथा सुदन गुरुङद्वारा परिचालित पङ्क्तिहरू प्रयोग गरेर नेपालमाथि हमला गरिएको थियो । त्यहाँ बम बनाउन सिकाइएको थियो, घर जलाउन सिकाइएको थियो । सिंहदरबार जलाइयो, संसद् जलाइयो, सर्वोच्च अदालत जलाइयो, निजी उद्योग तथा कारखानाहरू जलाइए र हाम्रा घरहरू पनि जलाइए । आज ती अपराधीहरू सत्ताको छायामा संरक्षित छन् । आजसम्म पनि हाम्रा जलेका घरहरूको क्षतिपूर्ति हामीले पाएका छैनौँ ।’
पार्टीले सुरु गरेको जागरण अभियानमार्फत यी तमाम भ्रमहरूबारे सुरुमा पार्टीका नेता तथा कार्यकर्ता र त्यसपछि आम जनतालाई स्पष्ट पार्दै लैजाने एमालेको योजना रहेको बस्नेतले बताए । भ्रमको खेती गर्नेहरू विरुद्ध पार्टी पङ्क्ति वैचारिक र साङ्गठनिक रूपमा सशक्त ढङ्गले प्रस्तुत हुने उद्घोष समेत उनले गरे।



