नेपाली कांग्रेस राष्ट्रियसभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइनु आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । सोमबार (असार १) राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर उनले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी राजनीतिक ‘सेटिङ’का आधारमा गुरुङलाई फेरि गृहमन्त्रीमा नियुक्त  गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

“तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक पनि नगरी, यो विषयमा सदनलाई जानकारी नगराई, नेपाली जनतालाई जानकारी नगराई एउटा बडो शंकास्पद राजनीतिक सेटिङको आधारमा गृहमन्त्रीमा फेरि पुनर्बहाली गरिएको छ, यो अत्यन्तै भर्त्सनायोग्य काम भएको हामीले महसुस गरेका छौँ,” उनले भने ।

सचेतक परियारले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराए । उनले भने, “त्यो सम्पत्ति छानबिन आयोगको प्रतिवेदन तुरुन्तै सार्वजनिक गर्नका लागि म जोडदार माग गर्दछु ।”

उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत सरकारलाई दबाब दिए । सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यमा ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको पनि उनले बताए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय