नेकपा (एमाले) सचिवालय बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरूले फरक–फरक धारणा राखेका छन् ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकमा धारणा राख्ने क्रममा केही नेताले राजीनामा दिएर एमाले पुनर्गठनका निम्ति मार्गप्रशस्त गर्न नेतृत्वलाई सुझाव दिए । केही नेताले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे ।
यस दिन बैठकमा महासचिव, तीन उपमहासचिव र पाँच सचिवले धारणा राखेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । आइतबार (जेठ १०) सचिवालय बैठक पुनः बस्ने र बाँकी चार सचिवले धारणा राख्ने उनले बताए । त्यसपछि अध्यक्ष ओलीको जवाफसँगै बैठक सम्पन्न हुने उनको भनाइ छ ।



