नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन् । शनिबार मोरङको विराटनगरस्थित कोइरालानिवास पुगेका उनले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताएका हुन् ।
भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको उनले स्वीकार गरे । उनले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए । तर, भदौ २४ गते कोइरालानिवासदेखि चाक्सीबारी, सिंहदरबार, राष्ट्रपति भवनसम्म गरिएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उनको आरोप छ ।
“भदौ २४ गते नेपालमा जुन वितण्डा भयो, त्यो वितण्डाको हिसाबकिताब हुन अझै बाँकी छ,” उनले भने, “भदौ २३ गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठूलो दोष थियो र त्यही भएर त्योमाथि अनुसन्धान भएको छ ।”



