झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।
कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको खेलमा गण्डकी प्रदेशले मधेस प्रदेशलाई सोझो सेटमा हराएको हो । हारसँगै मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
गण्डकीले मधेसलाई ७–२५, १५–२५, १८–२६ को सोझो सेटमा जित निकाल्यो । जितसँगै गण्डकी प्रदेशले सेमिफाइनल प्रवेशका लागि आजै लुम्बिनी प्रदेशको सामना गर्नेछ ।
लुम्बिनीले बिहीबार दोस्रो खेलमा मधेस प्रदेशलाई सोझो सेटमै हराएको नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काले बताए । गण्डकी र लुम्बिनीबीचको विजेताले सुदूरपश्चिम प्रदेशसँग दोस्रो सेमिफाइनल खेल्नेछ । हार्ने टिमले कोसी प्रदेशको सामना गर्नेछ ।
पाँच प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लुम्बिनी, मधेस र गण्डकी प्रदेश समूह ‘क’ मा छन् । यस्तै, कोसी र सुदूरपश्चिम प्रदेश समूह ‘ख’ मा छन् ।
प्रतियोगिताको विजेताले नगद तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँसँगै ट्रफी, मेडल प्राप्त गर्ने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद २५ हजार पाउनेछ । त्यस्तै, उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउने वाग्लेले बताए ।



