
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच साउदी अरबमा भएको शान्ति वार्तालाई ‘धेरै राम्रो’ भएको बताएका छन् । ट्रम्पले बैठकपछि आफूलाई शान्ति वार्तामा पहिलेभन्दा धेरै विश्वास रहेको बताए ।
‘रूस केही गर्न चाहन्छ। उनीहरू बर्बरता रोक्न चाहन्छन्। हरेक हप्ता हजारौं सैनिक मारिन्छन्। यो मूर्खता हो,’ उनले भने, ‘हामी यसको अन्त्य चाहन्छौं । यो अर्थहीन युद्ध हो । यदि म राष्ट्रपति भएको भए यो (युद्ध) कहिल्यै हुने थिएन।’
युक्रेनमा जारी युद्ध अन्त्यका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच मंगलबार साउदी अरबमा शान्ति वार्ता भएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले केही समयपछि यो वार्तामा युरोपले पनि साथ दिनुपर्ने बताए ।
रुबियोले रुसमाथि लगाइएको प्रतिबन्धका सम्बन्धमा सबै पक्षले सहुलियत दिनुपर्ने बताए । युक्रेन युद्ध अन्त्य गर्न रुस गम्भीर प्रक्रिया शुरू गर्न इच्छुक रहेकोमा आफू सहमत भएको उनले बताए । ‘दुवै देशले एकअर्काका देशका राजदूतलाई फिर्ता लैजान सहमति जनाएका छन् । यी गतिविधिहरूलाई अगाडि बढाउन सक्रिय कूटनीतिक नियोग आवश्यक छ,’ उनले भने ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र अमेरिका तीनवटा कुरामा सहमत भएको बताएका छन् ।
पहिलो, दुवै देशले जतिसक्दो चाँडो एकअर्काका लागि राजदूतहरू नियुक्त गर्नेछन् ताकि दूतावासहरूमा बैंक स्थानान्तरणमा प्रतिबन्धलगायत कूटनीतिक नियोगहरूमा परेका अवरोधहरू हटाउन सकियोस् ।
दोस्रो, लाभरोभले युक्रेन सम्झौताको प्रक्रिया शुरू गरिने र अमेरिकाले आफ्ना प्रतिनिधि नियुक्त गर्नुपर्ने बताए । प्रतिनिधि नियुक्त गर्ने उनको भनाइ छ । तीन, विभिन्न क्षेत्रमा पूर्ण सहयोग प्रारम्भ र विस्तार गर्ने अवस्था सिर्जना गरिने छ।
यद्यपि, लाभरोभले पत्रकार सम्मेलनमा असहमति भएका मुद्दाहरू पनि उल्लेख गरे र युक्रेन नेटोमा सामेल हुनु रसियाका लागि प्रत्यक्ष खतरा भएको बताए।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ताको आलोचना गर्दै युक्रेनको अनुपस्थितिमा युक्रेनबारे छलफल भएको बताए । युक्रेन वा युरोपका कुनै पनि अधिकारीलाई यो बैठकमा आमन्त्रित गरिएको थिएन । ‘हामी सबै पारदर्शिता चाहन्छौं ताकि कसैले हाम्रो पछाडि केही निर्णय नगरोस् । हामीलाई रुस–अमेरिका वार्तामा आमन्त्रित गरिएको थिएन । अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्य थियो। हामीले मिडियाबाट थाहा पायौं।’
साउदी अरबमा अमेरिका र रुसका विदेशमन्त्रीबीच वार्ता भइरहेको बेला युक्रेनका राष्ट्रपति टर्किएमा थिए । ‘युक्रेनबाहेक, ईयू, टर्की र बेलायतलाई पनि संयुक्त राज्य अमेरिकासँग रक्षा ग्यारेन्टीको मुद्दामा थप प्रगति गर्न यो वार्तामा समावेश गर्नुपर्छ,’ उनले भने ।
उनले रुसले कब्जा गरेको क्षेत्रलाई कुनै पनि हालतमा मान्यता नदिने बताए । जेलेन्स्कीले यस हप्ताको लागि तय गरिएको साउदी अरेबियाको भ्रमण मार्च १० सम्म स्थगित गर्ने पनि बताए।
युक्रेनको अनुपस्थितिमा उनले कसैलाई पनि किनारा नगरिएको अमेरिकी विदेश मन्त्रीले बताए। अमेरिकाले युक्रेन र युरोपेली संघ दुवैलाई थप वार्तामा सामेल गर्ने उनको भनाइ थियो ।
यसैबीच, बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ हुन तयार रहेको बताएको छ । बेलायती सेना ब्रिगेडियर एन्डी वाटसनको रेखदेखमा नाटो अभ्यासमा भाग लिइरहेको छ । उनले युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भएमा आफ्नो ब्रिगेड ‘पूरै तयार’ रहेको बताए।
बेलायती प्रधानमन्त्री कियर स्टाररले पनि हालै भनेका थिए कि यदि युद्धविराम हुन्छ भने, उनी युक्रेनको रक्षा गर्न ब्रिटिश सेना पठाउन तयार छन्।