कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी थाइल्यान्डको बैंककमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेकी छन् । मन्त्री चौधरीले जुन २९ देखि जुलाई ३ सम्म सञ्चालन हुने पाँचदिने सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
मन्त्री चौधरीले जुन २९ र ३० मा आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० एजेन्डाबीचको समन्वय सुदृढीकरण’सम्बन्धी सातौँ विश्व सम्मेलनको उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ । उक्त सत्रमा विशेष गरी जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन र दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ ।
यसैगरी, मन्त्री चौधरीले जुलाई १ देखि ३ सम्म बैंककमा हुने वातावरण र विकास समितिको नवौँ सत्र (मन्त्रीस्तरीय बैठक)मा समेत सहभागिता जनाउने छिन् ।



