सरकारले विदेशस्थित १५ अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार (वैशाख २५) बसेको मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गरिएको हो ।
“नेपाल सरकार (मन्त्रिपरिषद्)को आज २०८३ वैशाख २५ को निर्णयबाट विदेशस्थित १५ स्थानमा रहेका नेपाली अनररी कन्सल जनरल तथा कन्सलहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।
पदमुक्त गरिएका १५ स्थानका अवैतनिकदूतमा अमेरिकाका क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिडुनी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जाकर्ता, इजरायलको रेहोवोट सिटीका छन् ।
यस्तै, साइप्रसको निकोसिया, जर्मनीका एनआरडब्ल्यू, ब्रेमिन र लोवर स्याक्सोनी र वार्सा, स्लोभेनिया र माल्टास्थित अवैतनिकदूतलाई पनि पदमुक्त गरिएको छ ।
“अनररी कन्सलसम्बन्धी नियमावली, २०३९ (छैटौँ संशोधन)को परिच्छेद २ को नियम ७ (८) बमोजिम ती स्थानहरूमा उहाँहरूको सेवाको आवश्यकता र औचित्यता समेतका आधारमा यो निर्णय लिइएको हो,” प्रवक्ता क्षेत्रीले भने ।



