सरकारले पेट्रोलियम पदार्थलगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायत इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको दाबी गरेका छन् ।
मंगलबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा राउतले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको दाबी गरे ।
आम उपभोक्ताहरूले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर, सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोललगायत वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी गरे ।
स्वचालित मूल्यमा बिक्री गर्ने हो भने सरकारले पेट्रोललगायत इन्धनहरूको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने उनले बताए । सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको उनको भनाइ छ ।
यस्तो छ सचिव राउतको भनाइ :
कस्तो अवस्था छ भने महँगोमा किन्ने अनि सस्तोमा बिक्री हुँदै जाँदाखेरी यो पहिलोका सञ्चित मुनाफा पनि सकिएको छ । त्यसो भएर सरकारले यो बाध्य भएर यो मूल्यवृद्धिको कदम चाल्नुपरेको छ । पछिल्लो समय सरकार गठन भएपछि नियमित रूपमा मूल्यमा तलमाथि गर्ने काम भएको छ । तर पूर्ण रूपमा स्वचालितमा जाने हो भने यो मूल्य धेरै माथि जाने अवस्था हुन्छ । तर सरकारले अलि मूल्य तल नै राखेर काम गरेको छ । लस भएकाले निगमले बोनस वितरण गर्नं पाउँदैन । लगातार ३ वर्ष नाफा आएपछि मात्रै बोनस खाने हो । मैले यति नै अनुरोध गरेँ ।



