नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार (वैशाख १९) नेता दामन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताएका हुन् ।
पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सभापति थापाले सार्वजनिक पदमा रहेका कांग्रेसका प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिए । पार्टी सञ्चालनका लागि कसैले पनि नेता वा पार्टीको खातामा अवैध रकम जम्मा गर्नु नपर्ने र लेभी प्रणालीबाटै पार्टी चल्नुपर्नेमा उनको जोड थियो ।
सभापति थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्ने र प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिए । सातै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिलाई बोलाएर अर्थतन्त्रको वर्तमान संकट र प्रदेशका प्राथमिकताहरूका बारेमा पार्टीले ठोस संवाद गर्ने उनको भनाइ थियो ।
“पुरानोलाई थोत्रो वा खराब मान्ने र नयाँलाई मात्र असल मान्ने प्रवृत्तिले समाजको अनुभव र विवेक नष्ट गर्छ । यदि नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति र पुर्खाको योगदानमा गर्व गर्न छाड्यो भने राष्ट्रको अस्तित्व नै संकटमा पर्न सक्छ,” उनले भने ।
पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको बताए । विभिन्न नेताहरूको नाममा स्थापित प्रतिष्ठानहरूलाई व्यवस्थित बनाउन पार्टीले नै विशेष पहल गर्ने सभापति थापाले प्रतिवद्धता व्यक्त गरे ।



