
वीरगञ्जमा ग्याङफाइटको क्रममा एकजनाको हत्या भएको छ। मंगलबार राति साढे ११ तिर वीरगञ्जको माइस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भएको ग्याङफाइटको क्रममा छुरा प्रहारगरी २२ वर्षीय गोल्डेन खानको हत्या भएको हो।
वीरगञ्ज महानगरपालिका–१० अशोकवाटिका घर भएका खानको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको थियो। उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव नारायणी अस्पतालमा राखिएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले हत्यामा संलग्न दुईजनाको पहिचान भइसकेको जानकारी दिए।
एसपी पाठकले भने, ‘दुई जनाको पुरानो रिसइवीको कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’