सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि रु. १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सरकारले विहीबार प्रस्तुत गरेको हो । कस्तो छ त बजेटको समग्र रुपरेखा ? कुन मन्त्रालयमा कति बजेट र कस्ता योजना स्वीकृत गरिएको छ त ?

सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि बजेट प्रस्तुत गरेको छ । विहीबार संघीय सदनको संयुक्त बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु खर्च रु. ११ खर्ब ८० अर्ब ५८ करोड अर्थात (६०.०१ प्रतिशत), पुँजीगत खर्च रु. ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा रु. ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ अर्थात १९.१ प्रतिशत गरि जम्मा रु. १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरे ।

यो चालु आर्थिक वर्षको बजेटको तुलनामा ५.५८ प्रतिशतले धेरै हो भने यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।

बजेट अर्थतन्त्रको विस्तार आर्थिक अवसर सिर्जना गर्ने मुख्य प्राथमिकता दिएको अर्थमन्त्रीको दाबी छ । अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न मुलुकलाई निर्धारित समय अगाडि नै सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाल्दै अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत अर्थमन्त्रीले गरे ।

उनले क्रेडिट रेटिङले ल्याएको उत्साहलाई माथिल्लो क्रेडिट रेटिङमा सुधार गर्न आर्थिक क्रियाकलाप अघि बढाइने बताए । निजी क्षेत्रको मनोबल बढाउँदै लगानीको वातावरण बनाउन अध्यादेश मार्फत कानूनमा गरिएको संशोधनले निजी क्षेत्र उत्साहित भएको जिकिर समेत उनले गरेका छन् ।

कसलाई कति दिइयो बजेट ?

–   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु. ९५ अर्ब ८१ करोड

–    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु. २ खर्ब ११ अर्ब १७ करोड

–    शहरी विकास मन्त्रालयलाई रु. १ खर्ब १८ अर्ब ३४ करोड बजेट

–   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई रु. ४ अर्ब २८ करोड  बजेट

–   सामाजिक सुरक्षा भत्ताका लागि रु. १ खर्ब ९ अर्ब

–  सञ्चार क्षेत्रको विकास लागि रु. ७ अर्ब ७२ करोड बजेट

–   पर्यटन मन्त्रालयलाई रु. १३ अर्ब २८ करोड बजेट

–    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न रु. ४ अर्ब

–    युवा तथा खेलकुद मन्त्रालयलाई रु. ६ अर्ब आठ करोड रुपैयाँ

–   वन तथा वातावरण मन्त्रालयलाई रु. १८ अर्ब ६१ करोड

–    उद्योग मन्त्रालयलाई रु. १० अर्ब १४ करोड

–   भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयलाई रु. १ खर्ब ५२ अर्ब

–   कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रु. ५७ अर्ब ४८ करोड

–    ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका लागि रु. ८६ अर्ब १ करोड

–    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि रु. २ अर्ब ८ करोड

–  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु. ७ अर्ब ७२ करोड

–   वन तथा वातावरण मन्त्रालयका लागि रु. १८ अर्ब ६१ करोड

–    उद्योग मन्त्रालयका लागि रु. १० अर्ब १४ करोड

–   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई रु. ७ अर्ब ४९ करोड

–    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई रु. १३ अर्ब बजेट विनियोजन

बजेटका अन्य व्यवस्थाहरु के–के छन् ?

–   यसअघि ६८ वर्ष पुरा भएपछि दिइदै आएको वृद्धभत्ता अब ७० वर्ष उमेर पुगेपछि मात्रै दिइने तर दुर्गम र लक्षित वर्गको हकमा भने ६० वर्ष यथावत्

–    गड्डाचौकी–अत्तरिया खण्डको स्तरोन्नतिका लागि रु. २१ अर्ब १९ करोड बजेट

–   तराई–मधेस द्रुतमार्ग निर्माण २०८४ मा सम्पन्न गर्ने

–    आगामी आर्थिक वर्षमा संविधान संशोधन गरिने

–    विद्युतीय भुक्तानी कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज

–     हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट

–    आगामी वर्षमा उच्च शिक्षासम्बन्धी छाता ऐन बनाउने

–   माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा

–    धितोपत्र बजारमा सूचीकृत कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय

-प्राथमिकता प्राप्त उद्योगको सो पुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने

–    सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम निरन्तर, प्रहरीलाई सक्षम बनाउने घोषणा

–  सरकारले मदिरा, बियर सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि

–    इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत्

–   पुराना सवारी साधनलाई अन्तिम दुई वर्षको आयकर बुझाए बाँकी समयको आयकर छुट दिइने

–  कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि

–   व्यक्तिले एक वर्षमा एकपटक केवाईसी अपडेट गर्नुपर्ने

–  कोशी, गण्डकी लगायतका नदीबाट कलकत्तासम्म पानीजहाज सञ्चालनका लागि अध्ययन गरिने

–   पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गर्ने घोषणा

विद्यार्थीदेखि उद्योगी अनि कृषिलगायतका क्षेत्रमा कति दिइयो बजेट ? 

–    चैते धान खेती विस्तारका लागि रु. ३३ करोड

–    रासायनिक मलमा अनुदानका लागि रु. २८ अर्ब ८२ करोड

–    महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने

–    जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गरिने, अब नमुना परीक्षण स्वदेशमै

–    हेटौँडाको मयुरधाप औधोगिक क्षेत्रलाई लगानी बोर्डमार्फत सञ्चालन गर्ने

–    विद्यार्थीका लागि हप्तामा २० घण्टा कामको व्यवस्था

–    स्टार्टअप उद्यमीलाई ३ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउन रु. ७३ करोड

–    विज्ञापनलाई मापदण्डमा आधारित मर्यादित बनाइने

–    आगामी मंसिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादनमा रोक लगाइने

–    काठमाडौँमा सूचना प्रविधि पार्क, मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर राखिने

–    आगामी वर्षभित्र ईयूको ग्रेलिस्टबाट हट्ने सरकारको लक्ष्य

–    नेपाली नागरिकले विदेशी कम्पनीलाई सेवा उपलब्ध गराए स्वेट सेयरको व्यवस्था

–    आगामी आर्थिक वर्षमा काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार गर्ने घोषणा

यि लगाएत अन्य थुप्रै योजनामा सरकारले बजेट विनियोजन गरेको छ । अब प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल जेठ २० देखि २३ गतेसम्म गर्ने समय तय गरिएको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय