पछिल्लो समय नेपालमा क्युआर कोडमार्फत कारोबार गर्नेको संख्या बढ्दो क्रममा छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानी तथा क्युआर कोडमार्फत हुने कारोबारलाई प्रवद्र्धन गर्ने नीति लिँदा यस्तो कारोबार बढेको हो ।
उपभोक्ताले हरेक किसिमका वस्तु तथा सेवा खरिद गर्दा क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था हुँदा यसको प्रयोगमा पनि व्यापकता आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनमा भुक्तानीका लागि ६७ लाख ५० हजार ५८२ पटक क्युआर कोडको प्रयोग भएको छ । माघमा यो संख्या ५७ लाख ८२ हजार २ सय ६५ थियो । माघको तुलनामा फागुनमा १६.७४ प्रतिशत बढी क्युआर कोडको प्रयोग भएको छ । हरेक महिनामा क्युआर कोड प्रयोग गरी भुक्तानी गर्ने क्रम बढ्दो क्रममा रहेको देखिएको छ ।
सन् २०२० जुनबाट नेपालमा क्युआर कोडमार्फत भुक्तानी सुरू भएको हो । कोरोना महामारीका कारण विश्व समुदाय कोठाभित्रै सीमित हुँदा प्रविधिको प्रयोग तीव्र भएको थियो । अधिकांश मुलुकले कारोबारमात्र नभई व्यवसाय पनि अनलाइन माध्यमबाट नै गर्न सुरू गरे । नेपालले पनि कोरोना महामारीकै समयदेखि विद्युतीय भुक्तानीमा जोड दिँदै आयो ।
त्यसअघि पनि विद्युतीय भुक्तानीको प्रयोग गरिए पनि निकै सुस्त थियो । कोरोना महामारीको समयदेखि भने आक्रामक रूपमा विद्युतीय भुक्तानीको माध्यमबाट नै कारोबार हुन थाल्यो । जसको परिणामस्वरुप पछिल्लो समय विद्युतीय भुक्तानीमा नेपालले फड्को मारेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कोरोना महामारीपछि २०७७ जेठमा भुक्तानीका लागि ८ लाख ५५ हजार ५ सय ६६ पटक क्युआर कोडको प्रयोग भएको थियो । त्यसको अर्को महिना असारमा क्युआर कोड प्रयोग १२ लाख ९३ हजार ३४९ पटक गरियो । त्यसयताको समयमा राष्ट्र बैंकले विभिन्न माध्यममार्फत क्युआर कोडमार्फत भुक्तानी गर्नका लागि अभियान नै चलाउँदै आएको छ ।
राष्ट्र बैंकले चालु आवलाई विद्युतीय भुक्तानी प्रवद्र्धन वर्षको रूपमा मनाइरहेको छ । पछिल्लो समय क्युआर कोडमार्फत सहज भुक्तानी गर्नका लागि अभियान नै चलाइरहेकाले यसको प्रयोग बढिरहेको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । उनले भने, “ठूला कारोबारमा मात्र नभई स–साना कारोबारका लागि पनि सहज बनाइएको छ । यसकारण पनि भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दो क्रममा रहेको छ ।”
ठूला कारोबारमा मात्र नभई पछिल्लो समय स–साना व्यवसायीका लागि पनि क्युआर कोड सुविधा राष्ट्र बैंकले दिएको छ । जसअनुसार ठेलागाडामा मकै बेच्ने व्यापारीदेखि ठूला औद्योगिक घरानामा समेत क्युआर कोडको प्रयोग भइरहेको छ ।
कारोबार रकमका आधारमा पनि क्युआर कोडमार्फत हुने कारोबार बढ्दै गएको देखिन्छ । चालु आवको साउनमा १२ अर्ब ८१ करोड रुपैयाँ क्युआर कोडमार्फत भुक्तानी भएको थियो । फागुनमा यो रकम वृद्धि भई २० अर्ब ७७ करोड पुगेको छ ।
पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र डिजिटाइज हुँदै गएको बताउने गरेका छन् । यसमा पनि विद्युतीय भुक्तानी वृद्धि हुँदै जाँदा सहजता सिर्जना भएको उनको भनाइ छ । कोरोना महामारीका कारण भुक्तानी प्रणालीमा परिवर्तन आएको उनको बुझाइ छ ।