
निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे विज्ञहरुसँग छलफल।
२६ माघ २०७८, काठमाडौं।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी तिव्र पारेको छ। आयोगले आगामी निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे विज्ञहरुसँग छलफल गर्ने भएको छ।
बुधबार आयोगले मेसिन प्रयोग गर्ने सकिने/नसकिने विषयमा विज्ञहरुसँग छलफल गर्न लागेको हो। निर्वाचनलाई छिटोछरितो बनाउन प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनेर छलफल गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
२०७४ सालमा भएको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनको समयमा पनि आयोगले मेसिन प्रयोग गर्ने बारे छलफल गरेको थियो।
यसपटकको निर्वाचनमा मेसिनको प्रयोग गरेर निर्वाचन गर्न सकिने/नसकिने विषयमा आयोगले काम अघि बढाएको हो।
नेपालमा गत मंसिरमा भएको नेकपा एमाले र राप्रपाको महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरेर निर्वाचन भएको थियो । तर कांग्रेसले भने मेसिनको प्रयोग गरेन। नेपालमा भोटिङ मेसिन प्रयोग गर्नुपर्ने माग हुँदै आइरहेको छ।