इजरायली अधिकारीहरूले शनिबार इरानी सेनाले पहिलोपटक लामो दूरीका मिसाइल प्रहार गरेको बताएका छन् ।

यसले मध्यपूर्वभन्दा बाहिरसम्म आक्रमणको जोखिम बढाएको छ । यसैबीच, इरानको एक आक्रमणमा इजरायलको परमाणु केन्द्र नजिकै दर्जनौं मानिस घाइते भएका छन् ।

इजरायली सैन्य प्रमुख एयाल जामिरका अनुसार इरानले हिन्द महासागरस्थित अमेरिकी–बेलायती सैन्य अड्डा डिएगो गार्सियातर्फ ४ हजार किलोमिटर दूरीसम्म पुग्ने दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेयता यो पहिलोपटक इरानले लामो दूरीका मिसाइल प्रयोग गरेको इजरायली सेनाले जनाएको छ ।

जामिरले एक विज्ञप्तिमा भनेका छन्, ‘यी मिसाइलहरू इजरायललाई मात्र लक्षित होइनन् । यिनको पहुँच युरोपका राजधानीहरू; बर्लिन, पेरिस र रोमसम्म पुग्छ, जसले ती शहरहरूलाई प्रत्यक्ष जोखिममा पार्छ ।’

बेलायतको रक्षा मन्त्रालयका एक स्रोतका अनुसार उक्त आक्रमण शुक्रबार अमेरिकी सेनालाई बेलायती सैन्य अड्डा प्रयोग गर्ने अनुमति दिइनुअघि नै भएको थियो ।

अमेरिका र इजरायलले आक्रमण शुरू गरेयता इरानमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यस्तै, युद्ध शुरू भएयता इरानी आक्रमणमा इजरायलमा १५ जनाको ज्यान गएको छ ।

शनिबार राति इरानी मिसाइलहरूले दक्षिणी इजरायलका डिमोना र अराद शहरमा प्रहार गर्दा बालबालिकासहित दर्जनौं मानिस घाइते भएका छन् ।

इरानको रिभोल्युसनरी गार्ड्सले आइतबार बिहान जारी वक्तव्यमा दक्षिणी इजरायलका सैन्य संरचना र सुरक्षा केन्द्रहरूलाई लक्षित गरिएको जनाएको छ ।

इजरायली सेना प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सामाजिक सञ्जाल एक्समार्फत देशको वायु प्रतिरक्षा प्रणाली सक्रिय भए पनि आक्रमण रोक्न नसकिएको बताएका छन् । ‘हामी घटनाको अनुसन्धान गर्नेछौं र यसबाट सिक्नेछौं’, उनले भने।

इजरायलको गोप्य परमाणु रिएक्टर डिमोनाबाट करिब १३ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । यी दुवै शहर देशका ठूला सैन्य अड्डामध्ये एक नेभाटिम एयर बेस नजिक रहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरादमा भएको आक्रमणपछि वक्तव्य जारी गरेका छन् । ‘हाम्रो भविष्यका लागि लडाइँको अत्यन्त कठिन साँझ हो’, उनले भनेका छन्, ‘हामी आफ्ना शत्रुहरूमाथि सबै मोर्चाबाट आक्रमण जारी राख्न दृढ छौं ।’

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय