वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन् ।
मंगलबार उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
साथै सभामुख घिमिरेले यादवलाई सांसदको लोगो पनि लगाइदिए ।
शपथ ग्रहणपछि जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सांसद यादवले जसपाबाट चाँडै नै सरकारमा प्रतिनिधि पठाइने बताए ।
उनले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । उनले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गरे ।



