राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच विवाद भएको छ । सार्वजनिक भिडियोअनुसार थापाथली चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी र आशिकाबीच विवाद भएको हो ।
भिडियोमा सांसद आशिका गाडीबाट अर्का ट्राफिक प्रहरीलाई सम्झाउनु है तपाईंका मान्छेलाई भनेको सुनिन्छ । आशिका चढेको गाडी दिउँसो साढे २ बजेतिर माइतीघरबाट त्रिपुरेश्वरतर्फ जाँदै थियो ।
त्यहीबेला पहँलो बत्ति बल्यो । जेब्रा क्रसिङ नजिकै ट्राफिक प्रहरीले गाडी राखेर पैदलयात्रुलाई बाटो काट्न दियो ।
त्यसपछि भने आशिका आक्रोशित बनेको प्रहरीले बताएको छ । ‘म बाटो क्रस गर्न सक्थेँ मलाई किन रोकेको भन्दै उहाँ जंगिनु भएछ,’ एक ट्राफिक प्रहरीले भने, ‘त्यसपछि गाडीबाटै ओर्लिएर ट्राफिकलाई थर्काउनुभएछ ।’
आशिका गाडीबाट उत्रिएर ट्राफिकसँग विवाद गर्दा केही मिनेट ट्राफिक समस्या समेत भएको थियो ।



