नेकपा (एमाले)का नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई पार्टी चुनावबाट नभाग्ने बताएका छन् । बिहीबार महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौलाले बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा भागेका कैदीबन्दी, लुटिएका हतियारको विषयले भयरहित चुनावको वातावरण नरहेको बताएका हुन् ।
“लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय संघर्ष गरेको पार्टी जनताका बीचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध गर्दैन । हामी विरोधी होइनौँ । बढीभन्दा जनताका बीचमा जानुपर्छ भनेर रुचाउने पार्टी एमाले हो,” बर्तौलाले बैठकपछि भने ।
चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको प्रधानमन्त्रीलाई बताएको उनले सुनाए । अदालतले संवैधानिक परीक्षणको बाटो टुंग्याएपछि विषय निर्धारण हुने उनी बताउँछन् ।
बर्तौलाले एमाले जनताबाट अनुमोदित हुने कुरामा पिँठ्यु फर्काएर नभाग्ने बताए । “निर्वाचन हुने कुरालाई सम्मानका साथ ग्रहण गर्छौं । नेतृत्वदायी भूमिका जनताले दिए नेतृत्व गर्छौं,” उनले भने ।
प्रधानमन्त्रीले निर्वाचनको वातावरण सुमधुर बनाउन पहल रहेको बताएकी थिइन् ।




