सिमरा घटनाबारे जेनजी मधेस प्रदेशका संयोजक शिव यादवले एमालेका कार्यकर्तालाई पक्राउ गर्न माग गरेका छन् । उनले आज एक विज्ञप्तिमार्फत एमालेका कार्यकर्ताले जेनजी अभियन्तामाथि कुटपिट गरेको दाबी गरेका छन् ।

“जेनजी बारा समितिले एमालेको कार्यक्रममा कुनै प्रकारको अवरोध गरेको होइन । खासमा सिमरा चोकमै आज जेनजीको कार्यक्रम थियो । यो कार्यक्रममा एमालेद्वारा नै परिचालित गुण्डा समूहहरू पसेर बारा संयोजक सम्राट उपाध्यायलगायतका जेनजी साथीहरूलाई कुटपिट गरेका हुन्,” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, एमालेको कार्यक्रम परवानीपुरमा रहेको तर एमालेका कार्यकर्ता सिमरामा आएर जेनजी अभियन्ताको अपमान गर्ने, दुर्व्यवहार गर्ने र कुटपिट गर्ने काम गरेको विज्ञप्तिमा भनिएको छ ।

“यो घटना घटाउने कार्यमा संलग्न एमालेका गुण्डाहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ । आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेस निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु । मधेसमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ,” विज्ञप्तिमा भनिएको छ ।

संयोजक यादवका अनुसार, करिब १५ किलोमिटर टाढाबाट आएर जेनजी अभियन्तामाथि आक्रमण भएको थियो । उनी भन्छन्, “करिब १५ किलोमिटर टाढाबाट आएर साथीहरूमाथि आक्रमण भएको छ । सरकार चुनाव सम्पन्न गराउनका लागि लागिपरिरहेको छ । तर, एमालेले चुनाव बिथोल्नका लागि यस्ता गतिविधिहरू गर्दै आएको छ ।”

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय