प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिँचाइ गर्न सकिने बताए ।
उनले पानीको अभावका कारण मधेस सुक्खाग्रस्त भएको बताउँदै सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको बताए । सरकार सङ्कटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको बताए ।
चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको बताए । सरकारको तर्फबाट मधेसमा पानीको समस्या समाधान गर्न सबै सरकारी निकाय, गैरसरकारी निकायहरूलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘मधेस सुक्खाग्रस्त छ । पानीको अभावको कारणले सुक्खाग्रस्त भएकाले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका छौँ । सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरूबाट काम गर्नेछौँ । चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकूल वातावरणतर्फ फर्काउने काम गर्दछौँ । तत्कालका लागि अरू विभिन्न काम अघि बढाउनेछौँ । अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरूलाई आग्रह गर्दछु । गैरसरकारी सङ्घसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु । हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान गर्ने र डिप बोरिङमार्फत तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ । एउटाले लगभग ६० बिघा जमिन सिँचाइ गर्न सकिन्छ ।’



