
काठमाडौंको गौरीघाट बस्ने राजु तामाङ सधैँ झैँ पशुपतिनाथ मन्दिरको १ नम्बर गेटमा ड्युटीमा खटिएका थिए । बिहान ८ बजे गोठाटारका बुद्धरत्न स्थापित पशुपतिनाथको दर्शन गर्न पुगे ।
खुट्टामा चप्पल देखेपछि सुरक्षागार्ड तामाङले ‘मन्दिरभित्र चप्पल लगाएर प्रवेश गर्न पाइँदैन, बाहिर फुकालेर आउनुस्’ भने । त्यसक्रममा उनीहरूबीच नोकझोक चल्यो । आक्रोशित हुँदै स्थापितले ‘तँलाई पख, मैले जानेको छु, तँ गार्ड निकै बढ्ता भाको छस्,’ भनेर गाली गरे ।
केही छिनपछि स्थापितले आफूसँगै शंखमूल बस्ने सूर्य प्रकाश भट्ट र सिनामंगल बस्ने अभिषेक पन्तसहित ६/७ जनाको समूह ल्याएर सुरक्षागार्ड तामाङको कठालो समाते । कुटपिट गरेर लाखापाखा लागे ।
घटना चैत ८ गतेको हो । तामाङको लौरो समेत थुतेर टाउको र शरीरका विभिन्न ठाउँमा प्रहार गरेपछि उनी बेहोश भए । अन्य दर्शनार्थीले देखेपछि त्यहाँ प्रहरी र कोषका सुरक्षागार्ड मिलेर तामाङलाई मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पताल पुर्याए ।
उक्त घटना पशुपति मन्दिर परिसरमा राखिएको सीसीटीभी क्यामेरामा समेत कैद भएको छ । फूटेजकै आधारमा प्रहरीले स्थापित, भट्ट र पन्तलाई पक्राउ गरेको थियो ।
तामाङको उपचार खर्च मात्रै अहिलेसम्म ५ लाख ३३ हजारभन्दा बढी भइसक्यो । उक्त खर्च पशुपति क्षेत्र विकास कोषले व्यहोर्दै आएको छ ।
पेशागत रूपमा भट्ट र स्थापित लामो समयदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका छन् । पन्तले भने २/३ वर्षदेखि पठाओ चलाउँदै आएको खुलेको छ ।
तामाङकी श्रीमतीको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धानको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएपछि काठमाडौं जिल्ला अदालतमा हिजो (चैत ३१) गते आइतबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालयसँगको बयानमा स्थापितले आफू अन्य दिन चप्पल लगाएरै पशुपति नाथको दर्शन गर्न जाँदा कसैले रोकतोक नगरेको, तर तामाङले रोकेपछि आफूलाई रिस उठेको बताएका छन् ।
‘म सधैँ चप्पल लगाएर मन्दिर दर्शन गरेर बाहिर निस्कने गर्दछु, जान दिनुस् भन्दा तामाङले अपशब्द प्रयोग गरेर गालीगौलज गरे । मेरो सर्टको कठालो समाते,’ स्थापितले बयानमा भनेका छन्, ‘तामाङले लाठीले बायाँ खुट्टामा हानेपछि मैले रिस थाम्न सकिनँ र साथीहरू भेला पारेर कुटेको हुँ ।’
सुरक्षागार्ड तामाङसँग भनाभन परेपछि सिनामंगलस्थित ट्याक्सी पार्कमा पुगेका स्थापितलाई पन्त र भट्टले गालामा के भएको हो ? भनेर साधेका थिए ।
स्थापितले आफूलाई पशुपतिका गार्ड तामाङले मन्दिर प्रवेश गर्न नदिएर लछारपछार पारेको बताए । ‘गार्डले किन यस्तो गर्यो, कुरा गर्न जाऔं’ भन्दै पन्त र भट्ट उनको पछि लागेर पशुपति मन्दिर परिसर पुगे ।
भट्टलाई पनि तामाङले १ झापड हानेको उनीहरूको बयान छ । त्यसपछि तामाङकै लट्ठी खोसेर भुइँमा लडाई लात्तीले बजारेको उनीहरूले बताएका छन् ।
बयानमा स्थापितले एकपटकलाई भैहाल्यो भनेर ट्याक्सी निकाल्न पार्किङमा पुग्दा साथीहरू भट्ट र पन्तले गालामा कोतरेको छ भनेपछि आफू तामाङप्रति झन् आक्रोशित भएको बताएका छन् ।
‘तामाङले मेरो कठालो समातेर लछारपछार पारे पनि म ठिकै छ भनेर हिँडिसकेको थिएँ, तर साथीहरूले एकपटक सोध्नुपर्छ भनेपछि मैले रिस थाम्न सकिनँ,’ स्थापितले बयानमा भनेका छन्, ‘भट्टले तामाङको लौरो खोसेर टाउकोमा प्रहार गरे, तामाङ भुइँमा लडेपछि हामी तीनैजना मिली कुटपिट गरेर हिँडेका हौं ।’
स्थापित, पन्त र भट्टले आफूहरूमाथि लागेको अभियोग स्वीकार गरेको भन्दै सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ (१) अन्तर्गतको कसुरमा सजाय मागदाबी गरेको छ । त्यस्तै, अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित तामाङको उपचारमा लागेका खर्च पीडकहरूबाट क्षतिबापत भराउन माग गरिएको छ ।
कसुर प्रमाणित गरी अदालतले सजाय तोकेमा स्थापित, पन्त र भट्टले १० वर्षसम्म कैद, क्षतिपूर्ति र १ लाख जरिवाना तिर्नुपर्ने छ ।