पीडित मोहन यादवका अनुसार झण्डै १० महिनाअघि केसी अधिकारीका छोराहरू अमिनसहित जग्गा नापजाँचका लागि आएका थिए । त्यतिबेला स्थानीयले कारण सोध्दा उनीहरूले नाप-जाँचपछि पास गरिदिने आश्वासन दिएका थिए । मोहन भन्छन्, ‘१० महिनाअघि उनीहरू नापी गर्न आए । सोध्दा भने, नापजाँचपछि पास गरिदिन्छौं । त्यसैले हामीले नापी गर्न दियौं । तर अहिले आएर थाहा भयो, बेइमानहरुले जग्गा नै बेचिसकेछन् ।’
उक्त जग्गा बेच्ने सुरसार गरिरहेको सुईंको पाएपछि स्थानीयहरुले २७ जेठ २०८१ मा घरबाटो सिफारिस नदिन, जग्गा रोक्का गरिदिन र अधिकारीका छोराहरुलाई बोलाएर छलफल गराइदिन निवेदन दिएका थिए ।
यता, केसी अधिकारीका छोरा दिनकर यादवले त्यो जग्गाको बारेमा पछि आएर लालपुर्जा हेर्दा मात्र आफूहरुलाई थाहा भएको दाबी गरे । ‘मेरो बुबाले जग्गा बेच्नु भएको थियो भने यत्तिका दिन जग्गा किन्नेहरु कहाँ हराएका थिए ? त्यो जग्गामा के आधारमा बसे ? मेरो बुबाले जग्गा बेचेको हामीलाई थाहा छैन । किनेको भए केही प्रमाण त राख्नुपर्थ्यो नि !,’ छोरा दिनकरले भने । केसीका छोराहरुको धनुषाको विदेह नगरपालिका- ८ मा घर छ ।
वडा नम्बर ४ को जग्गा ७ नम्बर वडाको सिफारिसले पास भएको खुलासा
दिनकर, भरत र चन्देश्वरको संयुक्त नामबाट बेचिएको १ बिघा ५ धुर जग्गा धनुषाधाम नगरपालिका- ४ मा पर्छ । तर उक्त जग्गा वडा नम्बर ७ को घरबाटो सिफारिसबाट पास भएको पाइएको छ । वडा कार्यालयको मिलेमतोमा अन्य वडाको सिफारिस प्रयोग गरी जग्गा पास हुनुले स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उब्जिएको छ।
वडा नम्बर ७ कार्यालय र वडाध्यक्ष हेमनारायण यादव र मालपोत कार्यालयका कर्मचारी प्रलोभनमा परेर कानुन विपरीत अन्य वडाको जग्गाको सिफारिस गरेको स्थानीयको आरोप छ । ‘वडा नम्बर ४ को जग्गाको घरबाटो सिफारिस वडा नम्बर ७ कार्यालयले कसरी गर्छ ? मालपोत कार्यालय अर्को वडा कार्यालयको सिफारिसले कसरी जग्गा पास गर्छ । सबैलाई प्रभावमा पारेर, मिलेमतो गरेर साविकमा नै केसी अधिकारीले बेचिसकेको जग्गा पुनः अर्कालाई बेचेका छन् । सबैमाथि छानबिन गरी कानुनी कारबाही हुनुपर्छ,’ पीडितको माग छ ।

धनुषाधाम- ४ का वडाध्यक्ष मनोज यादवले उक्त जग्गाको घरबाटो सिफारिस रोकेका थिए । ‘पटकपटक दिनकर मकहाँ आउँदा मैले घरबाटो सिफारिस दिइनँ । किनभनेक्क, धेरै पहिला जग्गा केसी अधिकारीसँग किनेको र पास नगरेको कुरा मलाई पनि थाहा छ । निवेदन पनि आयो,’ वडाध्यक्ष यादवले भने । तर अर्कै वडाको सिफारिसबाट जग्गा पास भइसकेको पाइएपछि उनले आइतबार विज्ञप्ति निकालेर गैरकानुनी सिफारिस दिनेलाई कारबाहीको माग गर्दै कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् ।
‘वडा नम्बर ४ को क्षेत्राधिकार मिची वडा नम्बर ७ ले गैरकानुनी रुपमा घरबाटो हुँदाहुँदै नभएको सिफारिस दिएको र राजस्व छली समेत भएको हुँदा यस्तो अनाधिकृत तथा गैरकानुनी कार्यप्रति वडा नम्बर ४ को गम्भीर ध्यानाकर्षण भएकोले गैरकानुनी कार्यको घोर भर्त्सना गर्दै यस्ता गैरकानुनी कार्य गर्नेलाई प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रियामा जाने र आगामी दिनमा यस्ता गैरकानुनी कार्यप्रति सचेत रहन आम जनसमुदायमा सुचित गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यता, वडा नम्बर ७ का वडाध्यक्ष हेमनारायण यादवले उक्त जग्गा कुन वडामा रहेको भन्नेमै अनभिज्ञता प्रकट गर्दै साविकको यज्ञभूमि गाविसको जग्गा रहेको आधारमा घरबाटो सिफारिस दिएको तर्क गरे ।

तपाईंले घरबाटो सिफारिस दिनु भएको दिनकर, भरत र चन्देश्वरको संयुक्त नाममा रहेको १ विघा ५ कठ्ठा जग्गा अहिले कुन वडामा पर्छ भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘अहिले कुन वडामा पर्छ भन्ने मलाई थाहा छैन । तर साविक यज्ञभूमि गाविसको आधारमा सिफारिस दिएको हुँ ।’
जग्गा पास भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका अधिकृत तेजप्रसाद रेग्मीले गरेका छन् । वडा कार्यालयबाट आएको सिफारिसका आधारमा जग्गा पास गरेको उनको दाबी छ । ‘वडा नम्बर ४ हो कि ७ हो हामीले जग्गा र कित्ता नम्बर हेर्ने हो । साविकको गाविस, कित्ता नम्बर थाहा हुन्छ । अहिले कुन वडा अन्तर्गत पर्यो भन्ने कुरा हामी वडाको सिफारिस अनुसार हेर्छौं । अहिले ठ्याक्कै कुन वडा हो भन्ने थाहा नहुन सक्छ,’ उनले भने ।




