नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही गरेको छ ।
अधिकारीले र्याम्प प्रोटोकल उल्लंघन गरेको भन्दै कारबाही गरेको हो । विमानस्थल प्रवेश गर्दा र्याम्प सेफ्टी प्रोटोकल पालना नगरेकाले कारबाहीका लागि पत्र जारी गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
गत मार्च ७ मा नेपाल एयरलाइन्सको जहाज काठमाडौं–दुबई–काठमाडौं उडान महिला चालक दलले उडाएकी थिइन् । महिला चालक दलका सदस्य अन्तर्राष्ट्रिय उडान भरेको निगमको इतिहासमा पहिलो पटक थियो ।
विमान दुबईबाट काठमाडौंमा अवतरण भएपछि चालक दलका सदस्यलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित कार्यकारी अध्यक्ष अधिकारी विमानस्थल पुगेका थिए । त्यसबेला कार्यकारी अध्यक्ष अधिकारीले र्याम्प प्रोटोकल अनुसार विमानस्थल पास र ज्याकेट लगाएका थिएनन् । त्यो बेला अधिकारीले सुरक्षा मापदण्ड पालना नगरेको विषय अहिले प्राधिकरणले उठाएको हो ।
“संवेदनशील क्षेत्रमा प्रवेश गर्दा र्याम्प सेफ्टी प्रोटोकल पालना गर्नुपर्ने हुन्छ तर त्यो पालना नगरेको पाइएकाले स्पष्टीकरण सोधेका थियौं । उहाँले पठाएको जवाफ चित्त बुझ्दो भएन,” उनले भने, “त्यसपछि हामीले र्याम्प सेफ्टी प्रोटोकलसम्बन्धी तालिम लिनुस् भनेर हामीले पत्र पठाएका छौँ ।”
अध्यक्ष अधिकारीले अब र्याम्प सेफ्टी प्रोटोकलसम्बन्धी तालिम लिएर प्राधिकरणलाई सात दिन भित्र त्यसको प्रमाणपत्र बुझाउनु पर्ने हुन्छ । त्यसपछि फुकुवा गर्ने कि थप कारबाही गर्ने भन्ने बारेमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए ।



