सर्लाहीको बरहथवा नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाको वडा नम्बर-६ बरहथवा बजारमा १५ शय्याको अस्पताल भवन निर्माणको प्रगति ९० प्रतिशत भएको बरहथवा नगरपालिका इन्जिनियर दिपक लामाले बताए ।बरहथवा नगरपालिकामा निर्माण भएको भवनको २०७७ सालमा बरहथवा नगरपालिकाका पुर्व नगर प्रमुख देवानन्द महतोले शिलान्यास गरेका थिए ।
कुल १८ करोड ९५ लाख रुपैयाँको लागतमा तयार हुन लागेको भवनको न्यु ड्रागन प्रालिले निर्माण गरेको हो । भवन यही असार मसान्त सम्म निर्माण सक्नुपर्ने मिति रहेको छ ।बरहथवा नगरपालिकामा हाल एक वटा वडामा वर्थिङ सेन्टर सञ्चालनमा रहेको छ भने एक वडामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।नगरपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम मलंगवा र बिरगंज , जनकपुर जानुपर्ने बाध्यता रहेको छ ।नगरपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शैय्याको अस्पताललाई सञ्चालनमा ल्याउने भएको छ । त्यसको लागि नगरपालिकाले २०८०/८१ सालको नीति तथा कार्यक्रममा एम.बीबीएस डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ ।नगरपालिकामा एमबीबीएस. डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेवा लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य नगरपालिकाले लिएको नगर प्रमुख कल्पना कुमारी कटुवालले बताइन् ।



