नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
सोमबार (भदौ १५) ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले उक्त जानकारी दिएका हुन् ।
सो अवसरमा एमालेको वाग्मती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख गरी जम्मा २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो ।
उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद् व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताए । राहत वितरणको मोडालिटीबारे चर्चा गर्दै ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ हुनुभन्दा पीडितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए ।
“सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै थन्किने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ,” ओलीले भने, “हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्याउनु हो ।”
राहत र पुनर्स्थापनाका काम प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीडितसम्म छिटो पुग्न सकिन्छ, पार्टीले सोही बाटो अवलम्बन गर्ने उनको भनाइ छ । विपद्को यस घडीमा सबै पक्षलाई जिम्मेवार भई राहत कार्यमा जुट्न उनले आग्रह गरे ।



