डोटी, केआईसिंह-६ का बलायर वीरको आकस्मिक कक्ष (रेड जोन) मा आईसीयू पाउने आशमा दुई दिनदेखि भौतारिरहेका थिए । निजी अस्पतालमा लैजाने उनको सामर्थ्य छैन, निजीको तुलनामा सस्तो सरकारी अस्पताल वीरमा बेड खाली छैन । शुक्रबार दिँउसो रेड जोनमा भेटिएका बलायर गहभरी आँसु पारेर बसेका थिए । बेला-बेलामा स्वास्थ्यकर्मीसँग सोधिरहेका हुन्थे, ‘आईसीयू बेड खाली भयो र ?’
अघिल्लो रात मात्रै आईसीयू बेड अभावमा दुई बिरामीको मृत्यु भएको घटनाले उनलाई झन् अत्याएको छ ।
शुक्रबार दिँउसो वीर अस्पतालको आकस्मिक कक्षमा थप दुई बिरामी आईसीयूको पखाईमा थिए । करिब दुई घन्टाकै बीचमा बिरामी लिएर आकस्मिक कक्ष गेटबाहिर आइपुगेको एम्बुलेन्स आईसीयू बेड खाली नभएकाले फर्किन बाध्य भएको थियो ।
आईसीयू बेड उपलब्ध नहुँदा बिरामी छटपटीमै मृत्यु भएको दृश्य टुलुटुलु हेर्न विवश भएको आकस्मिक कक्षका स्वास्थ्यकर्मी बताउँछन् । ‘माथि आईसीयू कक्षमा ताला लगाइएको छ । आकस्मिक कक्षमा बिरामी मृत्यु कुरेर बसेका छन्,’ एक स्वास्थ्यकर्मीले गुनासो गरे, ‘स्वास्थ्य मन्त्रालयले गरिब बिरामीको पीडा कहिले देख्ला र !’
मुलुककै जेठो अस्पताल वीर स्वास्थ्य सेवामा आम नागरिकको भरोसाको केन्द्र बन्नुपर्ने थियो । तर दक्ष जनशक्तिको अभाव र आर्थिक संकटबाट गुज्रिरहँदा अस्पतालका आईसीयूदेखि वार्डका कक्षमा ताला झुन्डिएका छन् भने परीक्षणहरु पनि रोकिएका छन् ।



