भारतमा हुने एकदिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी) ले मंगलबार खेल तालिका घोषणा गरेको हो ।५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरक-फरक स्टेडियममा हुनेछन् । खेलहरु अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदराबाद, कोलकाता, लखनऊ, मुम्बई र पुणेका मैदानमा खेलाइने छ ।

५ अक्टोबरबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा विश्वकप २०१९ को विजेता इंग्ल्यान्ड र उप विजेता न्युजिल्यान्डबीच खेल हुनेछ । ६ अक्टोबरमा पाकिस्तान र छनोटबाट आउने पहिलो टोलीसँग हैदराबादमा खेल्नेछ ।भारतले पहिलो खेल ८ अक्टोबरमा अष्ट्रेलियासँग चेन्नईमा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा अहमदाबादमा हुनेछ । लिगको अन्तिम खेलमा १२ नोभेम्बरमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकपका लागि जिम्बावेमा भइरहेको विश्वकप छनोटबाट दुई टिम छनोट हुनेछ । विश्वकप छनोटमा एक जित र तीन हार व्यहोरेको नेपालको विश्वकप यात्रा भने समाप्त भइसकेको छ । नेपालले अमेरिकासँग जित निकाल्दा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्याण्ड्ससँग हार व्यहोरेको थियो । १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नोभेम्बर १५ मा पहिलो र १६ मा दोस्रो सेमिफाइनल हुनेछ । विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा अहमदावादमा हुनेछ ।

 

ट्रफी १८ देशमा

यसपटक आईसीसी एकदिवसीय विश्वकपको ट्रफी १८ दे‍शमा लगिने भएको छ । आईसीसीले सार्वजनिक गरेको भ्रमण तालिकामा रहेको राष्ट्रको सूचीमा नेपाल भने परेको छैन ।

ट्रफी भ्रमणमा लगिने देशमा आयोजक भारत, कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, इटाली, फ्रान्स, अष्ट्रेलिया, पीएनजी, न्युजिल्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिका रहेका छन् । सेप्टेम्बर ४ मा शुरु हुने ट्रफीको यात्रा विश्वकप आयोजक राष्ट्र भारत पुगेर सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय