आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइन्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले गरेको समूह विभाजनअनुसार नेपाल, वेष्टइन्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह ‘ए’मा परेका हुन् ।
प्रतियोगितामा दश राष्ट्रको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘बी’मा ओमान, आयरल्यान्ड, श्रीलंका, स्कटल्याण्ड र यूएई रहेका छन् ।
छनोट प्रतियोगिता आगामी जुन १८ देखि जिम्बावेमा हुँदैछ । समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
सुपर सिक्समा पर्ने टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष २ टिम छनोट प्रतियोगिताको फाइनलमा पुग्दै आउँदो वर्ष भारतमा हुने विश्वकपमा छनोट हुने छन् ।
विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भइसकेका छन् ।
खेल तालिका
विश्वकप छनोटका लागि आईसीसीले खेल तालिका पनि सार्वजनिक गरेको छ । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन जुन १८ अर्थात असार ३ गते हुनेछ । प्रतियोगिताको उद्घाटन खेल असार ३ गते नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असार ५ गते अमेरिकासँग खेल्ने छ । नेपालले तेस्रो खेल असार ७ गते वेष्टइन्डिजसँग खेल्ने छ भने चौथो खेल अर्थात समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्याण्ड्ससँग खेल्ने छ ।
प्रतियोगिताअघि नेपालले जिम्बावेमा दुई अभ्यास खेलसमेत खेल्नेछ । नेपालले जेठ ३० गते यूएई र जेठ ३२ गते ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ ।
नेपालले प्रतियोगिताको लागि २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । नेपालले विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा १० दिने प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ । नेपाली टोली जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने तयारी रहेको छ ।
