नेपाल एपीएफ क्लबको आयोजनामा यही जेठ २१ गतेदेखि २४ गतेसम्म ‘१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ हुने भएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु ब्याडमिन्टन वल्र्ड फेडेरेशन र ब्याडमिन्टर एसियन कन्फिडेरेशनको नियमअनुसार सञ्चालन हुने क्लबले जानकारी दिएको छ ।

१० वटा इभेन्ट्सहरु समावेश हुने सो प्रतियोगीताको कूल पुरस्कार राशि ८ लाख ६५ हजार रुपैयाँ रहेको छ । ब्याडमिन्टनतर्फ पुरुष तथा महिला एकलमा प्रथम हुनेले ७० हजार रुपैयाँ, दोस्रो हुनेले ३५ हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येक टिमले टि–सर्ट प्राप्त गर्ने र पुरुष तथा महिला युगलमा प्रथम पुरस्कार ५५ हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको क्लबले जनाएको छ ।

ब्याडमिन्टन प्रतियोगितामा समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५/५५ वर्ष, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ ३५ वर्ष माथि युगल रहेका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले प्रतियोगितासम्बन्धी फारम तथा नियम नेपाल एपीएफ क्लब, सशस्त्र प्रहरी बल नेपालको वेबसाइट र नेपाल ब्याडमिन्टन संघबाट प्राप्त गर्न सक्ने क्लबले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले एकल इभेन्टतर्फ १५ सय र युगलतर्फ ३ हजार रुपैयाँ इन्ट्री फि तिनुपर्ने छ । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय