
इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
दिवंगत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
घटनामा निधन भएका १० जना नेपालीको शव तत्काल ल्याउने पनि उनले बताइन् । साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।