
प्रधानमन्त्री देउवा र बिम्स्टेक महासचिवबीच भेटवार्ता।
२१ पुष २०७८, काठमाडौँ।
नेपालको तीनदिने भ्रमणमा आएका बिमस्टेकका महासचिव तेन्जिङ लेकफेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव लेकफेल प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका थिए ।
उक्त अवसरमा हालसम्म बिमस्टेकमा भएका प्रगितलाई अगाडि बनाउने र यसको प्रक्रियालाई थप सुदृढ गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । महासचिव लेकफेलले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेका थिए ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) मा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका मुलुकहरू छन् । त्यसमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड छन् ।