नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् ।
सवारीसाधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे ।
उनले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
“राजधानीको बढ्दो जनसंख्या, सहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थानको व्यवस्थापन, फोहोरमैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा पनि स्थानीय तह र नेपाल प्रहरीबीच सहकार्य आवश्यक छ,” उनले भने ।
उनले फोहोरमैलाको उत्पादनस्थलदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेकाले भविष्यमा यसको प्रभावकारी उपाय खोज्नुपर्ने बताए । नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिए ।



