जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् ।
फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको एसपी गोविन्द पुरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये केही यसअघि विभिन्न अपराध संलग्न भएकोसमेत पाइएको छ । पक्राउ गरेकामध्ये सात जना व्यक्ति पहिले नै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरेका व्यक्ति रहेका छन् ।
यसअघि ज्यान मार्ने कसुर, लागुऔषध तस्करी, अभद्र व्यवहार लगायतमा जेल सजाय भुक्तान गरेकाहरू पनि छन् ।
बैंकका एटीएम फोड्न खोज्ने, विभिन्न सरकारी कार्यालयमा आगजनीको नेतृत्व गर्ने, भिडलाई उक्साने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने, हतियार खोस्नेहरूलाई पक्राउ गर्ने क्रमलाई तीव्रता दिइने एसपी पुरीले बताए ।
पक्राउ परेकाहरूलाई अपराधिक उपद्रो मुद्दामा अनुसन्धान प्रकृया अघि बढाएको उनको भनाइ छ ।
भदौ २४ गतेको तोडफोडमा जिल्ला प्रशासन कार्यालय, मालपोत, आन्तरिक राजस्व, अदालत, सरकारी वकिल, पूर्वाधारलगायतका दर्जन बढी कार्यालय जलेका थिए । प्रहरी चौकी तथा कार्यालयमा आगजनी गरिएको थियो ।
जिल्लाका ७ पालिकामध्ये माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा तोडफोड र आगजनी गरिएको थियो ।




