भारतको बिहार राज्यको विधानसभा चुनावको सबै २४३ सिटको नतिजा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यो पटक पनि सत्तारुढ गठबन्धन एनडीएले कुल २०२ सिट जित्दै शानदार जित हासिल गरेको छ । भारतीय जनता पार्टी (भाजपा) ८९ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ । यसको गठबन्धन साझेदार जनता दल (युनाइटेड)ले ८५ सिट प्राप्त गरेको छ ।
विपक्षी राष्ट्रिय जनता दल (आरजेडी)ले २५ सिट मात्र जितेको छ ।
विहारमा प्राप्त गरेको जिपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनावमा सत्तारुढ एनडीएको ऐतिहासिक जितलाई ‘वंशवादविरुद्ध विकास–प्रधान राजनीतिको विजय’ भनेका छन् । उनले यस सफलताले पश्चिम बंगालमा भाजपाको जितको लागि पनि मार्ग प्रशस्त गरेको बताएका छन् ।
मोदीले बिहारका मतदाताहरूले दिएको जनादेशले अब राज्यमा ‘जंगल राज’ कहिल्यै फिर्ता नआउने स्पष्ट संकेत दिएको बताए । उनले यसलाई देशभरि विकासको एजेन्डा अगाडि बढाउने राजनीतिको बलियो उदाहरणको रूपमा प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै विहारमा महिला र युवाका कारण उनको गठबन्धनले जितेको बताएका छन् ।
तर, भारतका विपक्षी कांग्रेस नेता राहुल गान्धीले बिहारको नतिजा आश्चर्यजनक रहेको बताउँदै लोकतन्त्र बचाउने प्रयास जारी राख्ने बताएका छन् ।
“बिहारका लाखौँ मतदाताहरूलाई मेरो हार्दिक आभार, जसले महागठबन्धनप्रतिको आफ्नो विश्वास व्यक्त गरे । बिहारको यो नतिजा साँच्चै आश्चर्यजनक छ,” सामाजिक संजाल एक्समा गरेको एक पोष्टमा उनले भनेका छन्, “सुरुदेखि नै अनुचित रहेको एउटा चुनावमा हामी विजयी हुन सकेनौँ । यो लडाइँ संविधान र लोकतन्त्रको संरक्षणको लागि हो । कांग्रेस पार्टी र इन्डिया गठबन्धनले यस नतिजाको गहिरिएर समीक्षा गर्नेछ । र, लोकतन्त्र बचाउने प्रयासलाई अझ प्रभावकारी बनाउनेछ ।”




