चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । पहिलो चरणको उक्त प्रशिक्षण जेठ ३ गतेसम्म हुने भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

२३ खेलका लागि पहिलो चरणमा ४ सय २५ खेलाडी सहभागी हुने भएको उनले जनाए । २ सय ९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुने भएको सदस्य सचिव घिसिङले जनाए । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम चरणमा भने १ सय ६८ खेलाडी छनौट हुने भएका छन् । प्रशिक्षण सुरु हुनुअघि वैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुने भएको सदस्य सचिव घिसिङले जनाए ।

यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य–सचिव घिसिङले जानकारी दिए । तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउँदै उनले थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता प्राप्त भएको जनाए । उक्त प्रशिक्षण करिब साढे पाँच महिना चल्ने भएको छ भने रकम अभावले गर्दा कुनै पनि हालतमा प्रशिक्षण नरोकिने सदस्य–सचिव घिसिङले बताए । उक्त प्रशिक्षणको लागि राखेपले ९ करोड माग गरेको छ ।

नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय