इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ ।
कोलकाताले बिहीबार घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो जित निकाल्यो । प्रतियोगितामा बेङ्लोरको भने यो पहिलो हार हो ।
इडेन गार्डेनमा कोलकाताले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोरले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।
बेङ्लोरका कप्तान फाफ डु प्लेसिसले २३ रन बनाए । विराट कोहलीले २१, डेविड विलीले २०, मिचेल ब्रासवेलले १९ र आकास दीपले १७ रन बनाए ।
बेङ्लोरलाई सस्तैमा समेट्न कोलकाताका वरुन चक्रवर्तीले चार विकेट लिए । वरुनले ३.४ ओभरमा १५ रनमात्र खर्चिए । सुयास शर्माले तीन विकेट लिए । सुनिल नारिनले दुई र शार्दुल ठाकुरले एक विकेट लिए।
त्यसअघि कोलकाताका शार्दुल ठाकुरले ६८ रन बनाएका थिए । शार्दुलले २९ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । ओपनर रहमनुल्लाह गुर्बजले ५७ रन बनाए । रिन्कु सिंहले ४६ रन बनाए ।
बेङ्लोरका कर्न शर्मा र डेविड विलीले समान दुई विकेट लिए । मोहम्मद सिराज, मिचेल ब्रासवेल र हर्सल पटेलले समान एक विकेट लिए ।
जितसँगै दुई खेलबाट दुई अंक जोडेको कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौँ स्थानमा छ ।
