प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

चैत ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहने छ ।

नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । लाओसले ११ गते शनिबार भुटानसँग खेल्नेछ भने १४ गते मंगलबार नेपाल र भुटानबीच खेल हुनेछ । समूह चरणका सबै खेल साँझ ६ बजे शुरु हुनेछन् ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । फाइनल खेल साँझ साढे ५ बजे हुने एन्फाले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

प्रतियोगिताको पुरस्कार राशि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छन् । प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।

नेपाली टोलीमा गोलकिपर किरण कुमार लिम्बु, दीप कार्की र अभिषेक बराल, डिफेन्डर सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का, मिडफिल्डर पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास तथा फरवार्ड आयुष घलान, नवयुग श्रेष्ठ,  दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय