भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका सांसद तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी पाएपछि फरार भएका रायमाझीको घरमा प्रहरीले आज छापा मारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं टोलीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा छापा मारेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले अहिले खानतलासी गरिहेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी लिइएको बताए ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौँ रुपैयाँ उठाएर ठगेको आरोपमा काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ पूर्जी जारी भएको एक साता बित्न लाग्दा पनि रायमाझी भने फरार छन् ।
