सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाउँदै मिटरब्याज पीडितहरूले आन्दोलन गरेका छन् । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ । तर संघर्ष समितिले भने उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो ।
उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत माग गरेका छन् । मंगलबार काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

समितिले सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पत्ति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरूलाई अपराधीहरूको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।
संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहु महाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहे पनि अहिले साहु महाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए ।
