सर्लाहीमा मिटरब्याजीविरुद्ध आइतबारसम्म १ हजार ४ सय ७२ जनाको उजुरी परेको छ । उजुरी अझै बढ्न सक्ने भन्दै उजुरी लिने समय पुनः एक हप्ता थप गरिएकाे छ ।

 

मिटरब्याज अर्थात अनुचित लेनदेन जाँचबुझ आयोगबाट नै उजुरी लिने म्याद जेठ १४ गतेसम्म थप भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका मिटरब्याजी पीडित कोही उजुरी दिन छुटेको भए जेठ १४ गतेसम्म कार्यालयमा आएर उजुरी दिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए । यसअघि जेठ १ गतेदेखि ७ गतेसम्म पहिलो पटक एक साता म्याद थप भएको थियो ।

 

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गत वैशाख २० गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरोकारवालाहरुसँग अन्तरक्रियासहित प्रारम्भिक जानकारी लिएर आवश्यक सल्लाह सुझाव संकलन गरेको थियो ।

 

मधेश प्रदेशको राजधानी जनकरपुरधाममा आयोगको कार्यालय स्थापना भएपश्चात आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी उक्त दिन सर्लाही आएर मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग सदरमुकाम मलंगवामा छलफल गरी प्रारम्भिक अवस्था बुझेर फर्किएका थिए । सर्लाहीमा आयोग गठन हुनु पूर्व नै मिटरब्याज साहुविरुद्ध ६ सय ८० भन्दा बढी उजुरी परेका थिए ।

 

सर्लाहीमा पनि मिटरब्याजी पीडितले पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् । त्यही आन्दोलन र उजुरीपछि यहाँका मिटरब्याजी आराेपी श्याम परदेशी, संजय रौनियार र रामबाबु यादव जिल्ला अदालतकाे आदेश अनुसार कारगार चलान भएका थिए । यादव र राैनियार उच्च अदालतकाे आदेशले छुटिसकेका छन् भने परदेशी कारागारमै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय