नयाँ वर्ष २०८० साललाई स्वागत गर्न ओशो तपोवनले टुँडिखेलमा ‘ओशो महोत्सव’ आयोजना गर्ने भएको छ । यसअघि २०७९ वैशाख १ गते पनि ओशो तपोवनले १५ हजारभन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरेको थियो ।
२०७९ वैशाख १ गतेको कार्यक्रमबाट प्राप्त उत्साह र सकारात्मक सन्देशसँगै २०८० वैशाख १ गते सोही कार्यक्रमको दोस्रो संस्करण ‘ओशो महोत्सव’ आयोजना गर्न लागिएको ओशो तपोवनले एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ओशो तपोवनको प्रस्तुति तथा ओम नेपाल मिडियाको आयोजनामा महोत्सव गर्न लागिएको ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी दिए ।
बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहने भण्डारीले बताए ।
पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस पटक ओशो महोत्सव संगीतको महोत्सव हुनेछ । ओशो महोत्सव ध्यान र साधनाको महोत्सव हुनेछ । ओशो महोत्सव अध्ययनको महोत्सव हुनेछ । ओशो महोत्सव स्वाद र हाँस्यको महोत्सव हुनेछ । किनकि एक दिने ओशो महोत्सव ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।’
ओशो महोत्सवको मुख्य कार्यक्रम भने साँझ ५ बजेदेखि शुरु हुने र साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने प्रवक्ता भण्डारीले जानकारी दिए । देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा हुने उक्त सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणबाट विशेष सत्संग र आशिर्वाद प्रदान हुने उनले बताए । यही कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका नृत्य, संगीत र हाँस्य पनि प्रस्तुत हुने छ । चर्चित सांगीतिक समूह कुटुम्बले पनि आफ्नो विशेष प्रस्तुति दिने छ ।
ओशो महोत्सवमा हुने फुड फेस्टिभलको संयोजन अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहले गर्ने प्रवक्ता भण्डारीले जानकारी दिए । उनका केही नयाँ परिकारहरुको स्वाद महोत्सवमा लिन सकिने पनि भण्डारीले बताए ।
महोत्सवमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, दर्जनौं कलाकार, सञ्चारकर्मी, स्वदेशी तथा विदेशी ओशो प्रेमी र दर्शकहरु सहभागी हुने भण्डारीले बताए ।
महोत्सव पार्टनरको रुपमा ग्लोबल टुरिजम प्रमोशन काउन्सिल रहेको छ भने महोत्सवको मिडिया संयोजनको रुपमा चलचित्र पत्रकार संघ नेपाल रहेको छ ।
