दियोबाट ट्याक्टर सोरुममा आगलागी,पचास लाख बराबरको क्षति।
१९ कार्तिक २०७८, सर्लाही
सर्लाहीको बयलवासमा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट ट्याक्टर सोरुम रहेको एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
बिहिवार राती १ बजेतिर ईश्वरपुर नगरपालिका–७, बयलवास बजारस्थित ब्रहमबाबा चौकमा रहेको श्याम मैनालीको घरमा आगलागी भएको हो । आगलागीबाट मैनालीको काठ र टायलले छाएको दुई तले घर पूर्णरुपमा जलेको छ भने सोही घरको तल्लो तलामा कोठा भाडा लिई मिथिलेस महतोले संचालन गरेको मिनाक्षी टे«डर्स ट्याक्टरको सोरुममा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीमा परेर सोरुमभित्र रहेको सुपर न्यू होलैन्ड ३६३० मोडेल नम्वरको एउटा ट्याक्टर र सोरुमका अन्य पार्टपूर्जा पूर्णरुपमा जलेको छ भने अर्को ट्याक्टरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरण अनुसार आगलागीबाट घर र ट्याक्टर सोरुममा गरी करिव ५५ लाख रुपियाँ बराबरको क्षति भएको पाइएको बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार, स्थानीयवासी, प्रहरी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
यसैबीच, सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा बिहिवार राती विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ । साँढे ९ बजेतिर ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका विनोद मुखियाको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ भने नगद, अन्नपात, कपडा लगायतका सरसामग्री जल्दा एक लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।