आज उधौली पर्व मनाइदै।
काठमाडौँ- प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ ।
‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ’, किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन्, ‘यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।’
किराँतको धार्मिक पुस्तक मुन्धुम अनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा / पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
“धर्ती तातो हुँदै जाँदा चराचुरुङ्गी लेकतिरको शीतलतर्फ जान्छन्, त्यो समयको चाड उभौली भनियो । यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुङ्गी तराईतिर झर्छन्, यसलाई उधौली भनिएको हो, किराँती राई यायोख्खाका अध्यक्ष राईले भने
यता, संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली चाड मनाउने तरिका फरक छ । उनी भन्छन्, ‘उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गरिन्छ ।’



