प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटामा महिलाको उम्मेदवारी शून्य।
काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक देखिएको छ ।
निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि प्रतिनिधि सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य रहेको छ।
प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने २ हजार ४१२ जनामध्ये २ हजार १८६ जना पुरुष र २२५ जना महिला रहेका छन् अर्थात कुल उम्मेदवारी दिनेमध्ये ९.३२ प्रतिशत संख्या मात्र महिलाको रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार महिला उम्मेदवारको उपस्थिती १६५ क्षेत्रमध्ये ६१ वटामा शून्य र ४८ वटा निर्वाचन क्षेत्रमा मात्र एक-एक रहेको छ ।
प्रतिनिधि सभा तर्फको २६ वटा निर्वाचन क्षेत्रमा प्रत्येकमा दुई-दुई जना महिला उम्मेदवार रहेका छन् भने १३ वटा निर्वाचन क्षेत्र प्रत्येकमा तीन-तीन जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।
