भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फाइनलमा।
काठमाडौं, भदौ ३० गते। भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा रश्मी कुमारी घिसिङले निर्णायक गोल गर्नुभयो।
पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासमा रश्मीले गर्नुभएको गोल नै निर्णायक बनेको हो। यसअघि भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ। नेपालले सोमबार फाइनलमा बंगलादेशको सामना गर्नेछ।
महिला साफको इतिहास भारतमाथि नेपालको यो ऐतिहासिक जित हो। यसअघि नेपालले महिला साफमा भारतलाई पराजित गर्न सकेको थिएन।
