निर्वाचन प्रभावित पार्ने गरी कर्मचारी सरुवा गरिएको भन्दै एमालेको आपत्ति।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउँदै तत्काल बन्द गर्न माग गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सो निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु जिल्ला–जिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिए।

स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारीहरु परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको जिकिर गर्दै प्रमुख सचेतक भट्टराई आगामी निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भइरहेको आरोप लगाए। जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अवस्था हुन नदिने काम सरकारले गर्न नपाउने उनको भनाइ थियो।

उनले भने, ‘सरकारले धमाधम दीर्घकालीन महत्वका कतिपय निर्णयहरु गर्नुका साथै यही प्रतिनिधिसभामा पनि अनेक खालको विधेयकहरु ल्याएर विवेकलाई एकछिन छाडेर बहुमतको बलमा पास गराउने प्रयत्न गरिँदैछ। त्यसैगरी कर्मचारी सरुवा जभाभावी मनलाग्दी तरिकाले निरन्तर भइरहेको छ।

आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरु छानीछानी जिल्ला–जिल्लामा प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रमुख जिल्ला अधिकारीको रुपमा पठाउने काम भइरहेको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत त्यसैगरी खटाउने काम गरिएको छ। यो तरिकाले निर्वाचनलाई प्रभावित गर्ने गरी आफ्ना मान्छेहरु छानीछानी लाने काम गरिएको छ।’

निर्वाचन आयोगले यही भदौं २० गतेयता कर्मचारी सरुवा, बढुवा गर्ने काम नगर्न सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय